loading...

Saturday, February 4, 2017

शितलनिवाससँग भिख मागिरहेको छ यो घर, जसले मदनलाई हुर्कायो र विद्यालाई बाटो देखायो !

नेपाली कम्युनिष्ट आन्दोलनका सर्वोच्च नेता मदन भण्डारीका नाममा थुप्रै सङ्घसंस्था खुलेका छन् । भण्डारीकै नाम जोडेर खोलिएका विभिन्न सङ्घसंस्थाले क्रियाशील रहँदै नाम र चर्चा पनि कमाएका छन् । नेता भण्डारीकै राजनीतिक सिद्धान्तलाई पछ्याएको पार्टी नेकपा एमाले वर्तमान सरकारको नेतृत्वकर्ता पनि हो ।


यति मात्रै हैन स्व. नेता भण्डारीकै धर्मपत्नी विद्यादेवी भण्डारी वर्तमान राष्ट्रपति हुन् । तर तिनै स्व। नेता भण्डारीको जन्मघर एवम् त्यही घरसँग नाता गाँसेकी विद्यादेवी भण्डारीको पुख्र्यौली घर ताप्लेजुङको ढुङ्गेसाँघुमा कम्तीमा पनि ओत लाग्ने छानोको अभावमा देखिएको छ । दुईतले खरले छाएको तर खर मक्किएर प्वालैप्वाल अनि भित्ता लिपिएको माटो उप्किएर भत्किन थालेको, हेर्दा थोत्रो देखिने घरमा कुनै बेला पार्टीको सभा, गोष्ठी हुँदा नेता कार्यकर्ताको खचाखच हुन्थ्यो । तर अहिले त्यही घरमा मान्छे बस्नु त के छानो ओढाई दिने कोही नहुँदा दिनानुदिन जीर्ण हुँदै ढल्ने अवस्थामा पुगेको छ । अहिले घरका भित्ता उप्किएर गारो भत्कन थालेको छ भने छानो मक्किएर झर्ने अवस्थामा पुगेको छ ।


लिपपोतको अभावमा सो घरको भित्ता उप्किएर गारोसमेत भत्कन सुरु भएको छ भने छानो मक्किएर धुजाधुजा हुँदा बर्सातको समयमा पानी चुहिएर हिलाम्मे हुने गरेको छ । सोही घरमा नै मदन भण्डारीको जन्म २००९ साल असार १४ गते भएको हो । वि.सं २०१५ मा गाउँमै एउटा हिउँदे पाठशाला (जुन बर्खायाममा बन्द हुन्थ्यो) बाट नै औपचारिक शिक्षातर्फ भण्डारीले प्रवेश गरेका थिए । जन्मिएको १५ वर्षसम्म सो गाउँमा नै भण्डारीको जीवन बितेको थियो भने त्यसपछि २०२४ सालमा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरीमा बसाइँ सर्‍यो ।

भण्डारी परिवारको बसाइँसराइपछि घरसहितको जग्गा स्थानीयवासीले किनेर भोगचलन गरेको र किनबेच हुँदै पछिल्लो समयमा सम्पूर्ण जग्गामध्ये घरसहितको केही भाग मदन भण्डारी स्मृति प्रतिष्ठानको नाममा रहेको एमाले ताप्लेजुङका नेता कार्यकर्ताले बताएका छन् । सो क्षेत्रलाई नमुना क्षेत्रका रुपमा विकास गर्न राज्यस्तरबाटै केही कार्यक्रम गर्ने गरी मदन भण्डारी स्मृति प्रतिष्ठानले घरजग्गा लिएको एमाले ताप्लेजुङका सन्तोष चाम्लिङ राईले बताए ।

अनेरास्ववियु ताप्लेजुङका अनुसार अहिलेसम्म आश्वासन बाहेक अरू केही काम हुन सकेको छैन । ‘न त मर्मत नै भयो न घरको अवस्थाका बारेमा कसैलाई चासो नै छ, अब कसले गर्ला यस घरको मर्मत र सम्भार रु’ एमाले निकट सो विद्यार्थी सङ्गठनले सो ठाउँमा पुगेर यस्तै प्रश्न गर्दै चासो बढाएको छ ।

विभिन्न समयमा जननेता भण्डारीको पुख्र्यौली घर भनेर ठूलै चर्चा चल्ने गरे पनि मर्मतसम्भारका लागि कसैले वास्ता नगरेपछि बुधबार अनेरास्ववियु जिल्ला कमिटी ताप्लेजुङ र सोही विद्यार्थी सङ्गठनकै पाथीभरा बहुमुखी क्याम्पस एकाई कमिटीको संयुक्त टोली सो घरमा पुगेर सरसफाइ गरेको थियो । चुहिँदै गरेको छानोमा त्रिपालसमेत ओढाउने काम भयो । ‘नेता भण्डारीको घरलाई महत्वका साथ हेरिने गरिए पनि कसैले मर्मत सम्भारमा ध्यान नदिएपछि हामी पुगेर सरसफाइ गर्नुका साथै त्रिपाल ओढाउने सम्मको काम गर्‍यौँ’, सङ्गठनका जिल्ला उपसचिव राजु नेपालीले भने ।

नेता भण्डारीको जन्मस्थल र घरलाई आन्तरिक वा बाह्य पर्यटकका लागि समेत घुम्न योग्य ठाउँको रुपमा प्रवद्र्धन गरिनुपर्ने स्थानीयवासीको भनाइ छ ।

No comments:

Post a Comment

loading...